Section 15
अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्ने
(१) दफा १४ बमोजिम गरिएको प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैंले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ । (२) उपदफा (१) बमोजिम अन्य सरकारी निकाय वा सार्वजनिक संस्थाको अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु वा तोक्नु अघि विभागको प्रमुखले सम्बन्धित निकाय वा संस्थाको प्रमुखसँग परामर्श गर्नु पर्नेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुखले कुनै कसूरको अनुसन्धान गर्न कुनै अनुसन्धान गर्ने निकाय उपयुक्त हुने देखेमा उक्त निकायसँग समन्वय गरी त्यस्तो निकायलाई नै अनुसन्धानको कार्य सुम्पन सक्नेछ । (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको प्रकृतिका आधारमा दुई वा दुई भन्दा बढी निकाय वा सार्वजनिक संस्था समेतको सहभागितामा कसूरको अनुसन्धान गर्नु पर्ने देखेमा विभागको प्रमुखले सम्बन्धित निकाय वा सार्वजनिक संस्थाको प्रमुखसँग परामर्श गरी संयुक्त अनुसन्धान टोली गठन गर्न  सक्नेछ । (५) उपदफा (३) बमोजिम अनुसन्धान गर्ने निकाय वा उपदफा (४) बमोजिम गठित संयुक्त अनुसन्धान टोलीले अनुुसन्धान गर्दा यस ऐन बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ । (६) अनुसन्धान अधिकृतले अनुसन्धान सम्बन्धी काम प्रारम्भ गर्नु अगावै तोकिए बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ । (७) संयुक्त अनुसन्धान टोली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम  हुनेछ ।